हुन त संसारमा हरेक मान्छेहरूका आ-आफ्नै कथाहरू हुन्छन् । आ-आफ्नै व्यथाहरू हुन्छन् । कति लेखिन्छन्, बोलिन्छन्, सुनिन्छन्, सुनाइन्छन् त कति यसै बिलाएर जान्छन् । कथा मिठा हुन्छन्, कथा नमिठा हुन्छन् । कथा दुःखका हुन्छन् कथा सुखका हुन्छन् । वेदना, पीडा, हैरानी, लाचारी अथवा मान्छेले जिवनमा भोगेका अमिला समयहरूलाई कतिले लेख्छन् र वियोगान्त बनाउँछन् । संसार रुवाउँछन्। कतिले त्यसैलाई बेग्लै शैलीमा वर्णन गरेर कालजयी कृती लेख्छन् । कतिका सुखद कुराहरू पनि छन जो ओठमा मसिनो हाँसो र मिठो मुस्कान ल्याउन सफल छन् ।
मैले जिवनमा धेरै कथाहरू पढेको छु । कति कथाहरूमा सँगसँगै मन भुलाएको छु । आफूलाई पाएको छु । कथाकारसँगै उसका मनका भावनाहरूका साक्षी बसिदिएकोछु । कतिलाई टाढाबाट हेरेको मात्रै छु त कतिलाई नजिकबाटै महसुस गरेको छु । छोएको छु, सुम्सुम्याएको छु । जीवन भन्नु नै के नै हो र ? फगत कथाहरूको लहरे माला न हो ! हैन र ? मैले पढेका कथाहरूले त त्यसै भन्छन ! मैले एकदमै आत्माका नजिक पाएका कथा देखि यस्सो हेरेर सर्सर्ती पाना पल्टाएका भावनाहरूसम्मै हरेकमा आ-आफ्नै मनोवेग छ, आ-आफ्नै जीवन छ र आ-आफ्नै कथाहरू छन् । हुन त हरेक लेखकले लेख्ने उही न कुरा हो ! उही विषय हो, उही भावना हो, उही तरंग हो, उही संवेदना हो, उही मनोवाद हो, उही विचार हो, उही जीवन हो अनि उही संसार हो । तर पनि प्रत्येकको जीवन अलग छ । हरेक व्यक्ति हरेकमा फरक छ । एक्लै सिङ्गो संसार हो । मैले भोगेको संसार, मैले बाँचेको जीवन, मैले देखेका कुराहरू, मैले महसुस गरेका भावनाहरू, मैले हेर्ने मेरो आफ्नो दृष्टिकोण, मैले दैनिक भोग्ने भोगाइहरू मेरा- नितान्त मेरा हैनन र ?
म हरेक कथाहरूमा यही वैयक्तिकता खोज्ने गर्छु ।
मलाई हरेक कथाले छुन्छ। कथाको कथानकले छुन्छ। अझ आत्मा निचोरेर लेखिएका कथाहरुमा त म आफैँलाई पाउँछु। महसुस गर्छु। बग्छु। पस्छु। र छताछुल्ल हुन्छु शब्दहरुमा। अझ त्योभन्दा पर पुगेर कथा भित्रको कथामा हराउँछु। कथा भित्रको कथा- जसमा अनेकन कथाहरु बगिरहेका हुन्छन् । जस्तो- कथाको पात्र, पात्रले बाँचेको जीवन, उसले संसारलाई हेर्ने दृष्टिकोण, उसको व्यक्तिगत जीवनका उतारचढावहरु, पात्रसँग जोडिन आइपुगेका अरू पात्रहरू, अनि ति अरू पात्रहरूका कथाहरू । हुन त पात्रमाथी लेखकको छायाँ हुन सक्ला प्राय कथाहरूमा । प्राय कथाहरू लेखकले भोगेको बाँचेको परिवेशमाथि नै केन्द्रित होलान् । तर पनि कथामाथी पात्रको स्वतन्त्रता मलाई पात्रमाथी लेखकको स्वतन्त्रता भन्दा प्रिय लाग्छ । पात्रले आफ्नो मर्जी गर्न पाओस्, कथाहरूमा स्वतन्त्रता पाओस् । त्यो किन पनि भने- कथा जो सिंगो कथा पात्रको हो, त्यसमा पहिलो अधिकार केवल पात्रकै रहोस् । लेखक बस् त्यसलाई साफी गरिदिने लेखनदास मात्रै रहोस् ।
मैले लेखीएका कथाहरू पढेको छु, पढिएका कथाहरू सुनेको छु, देखाइएका कथाहरू हेरेको छु । मलाई केमा सबसे ज्यादा आनन्द आउँछ त ? पढ्दा? सुन्दा? या हेर्दा ? अथवा सायद तिनै थोकमा ! सम्भवतः मैले पढ्दा हेर्दा या सुन्दा हरेक पटक कथाको भावनालाई सुक्ष्म नजरले हेर्ने कोसिस गरेको छु । उत्तीकै मन लगाएर महसुस गरेको छु, उत्तिक्कै ध्यान दिएर बुझ्ने कोसिस गरेको छु । हुन त अबको संसारमा हेरिने कथाहरूकै बाहुल्यता रहला । सुनिने कथा अनी आउला । अनी मात्रै लेखिएका कथाहरू पढिएलान् । तर हेर्न र सुन्न भन्दा पहिला त लेखिनै पर्यो नी हैन र ? कसैले लेख्छ र त त्यो बाहिर प्रशारित हुन्छ ! जस्तो चलचित्र । जस्तो पोडकास्ट । जस्तो भिजुवल । जस्तो कथावाचन । जस्तो …..
संसारमा कति कथाहरू होलान् ? कति थरीका कथाहरू होलान् ? कति बाहिर आउलान् ? सबैले बाहिर ल्याउन सक्लान् ? कतिजनाले लेख्न सक्लान् ? अथवा कतिले नसक्लान् ? कतिजनाले मिठो शैलिमा लेख्लान् ? कति लेखकहरू कालजयी बन्लान् ?
मलाई लाग्छै- लेखक, कथाको लागि निमित्त मात्रै हो । कुनै विषयले उसलाई छोयो उसले लेख्यो । पात्र निर्माण गर्यो, पात्रलाई खेलायो, घटना निर्माण गर्यो अनी छोडिदियो । कसैले पनि म यसलाई कालजयी बनाउँछु भन्ने सोचेर सायदै लेखेको हुन्न । जस्तो मैले पढिआएका कथाहरू । जसमा म आफूलाई पाउँछु, त्यसैमा त डुब्छु नि ! अपनत्व महसुस गराउन नसक्ने कथाहरू कति त मैले बिचैमा छाडेको पनि छु । लेखकले विचार थोपरेका कथाहरू, फेरी विचारै नभएका कथाहरू, कथाका नाममा नाम मात्रैका कथाहरू, लथालिङ्ग अनी सिलसिला बिग्रीएका कथाहरू- जस्ता कथाहरू भरसक पढ्नु नपरोस् भनेर म सतर्क रहने गर्छु । कहिलेकाहीँ फेरी यस्तै कथाहरूको कथासागरमा हराएको पनि छु ।
मुख्य कुरो त मुड पनि होला कि त !
मलाई साहित्य पढ्न मन लाग्छ । मलाई कविता पढ्न मन पर्छ । मलाई निबन्ध पढ्न मन लाग्छ । तर मलाई सबैभन्दा मन लाग्ने विधा भनेको चैँ कथा नै हो । जस्तो उपन्यास । छोटा कथाहरू, फाट्टफुट्ट नाटक, कथानक आत्मपरक निबन्ध, जिवनी, आत्मकथा । चाहे जुनसुकै विधा किन नहोस, मेरो ध्यान तिनै चिजले तान्छन जहाँ केहीमात्रामा कथा गाँसिएको होस । कथा बुनिएको होस । कथाले सिँगारीएको होस । चट्ट अमिलो लागेको अचार जस्तो ट्ववाक्क स्वाद दिओस । त्यसैले त मेरा लागी चेखब महान छन, टोल्स्टोए महान छन । ओ हेनरी, मोपासाँ, प्रेमचन्द, टैगोर, विपि, विकल, इन्द्रबहादुर राई, विजय मल्ल, गोठाले, मैनाली… या मेरो समयमा कथा लेखिरहेका ति तमाम समकालीन कथाकारहरु/ लेखकहरु- ति जम्मै।
ति सबै मेरा प्रिय कथाकारहरू छन् । जसलाई म उत्तिकै सम्मानसाथ आज पनि पढ्छु । पढिरहन्छु । र सायद पढेर कहिल्यै अघाउने पनि छैन ।