मैले पंखा किन्ने निधो गरेँ ।
सबेरै आइपुगेका पत्रिकामा नजर लगाएँ । पत्रिकामा विज्ञापन छापिएका छन् । थरि थरिका पंखाहरू । हरेक कम्पनिका विज्ञापनमा एकदमै सजिएर बसेका छन् सुन्दरीहरू । कुनैमा पंखाको हावाले साडी उडाइरहेको, कुनैमा कपाल । कुनैमा स्कर्टका कुना फर्फराइरहेका त कुनैमा कुर्तीका दुपट्टा । एउटा विज्ञापनमा त पंखाको माथि नै टुसुक्क बसेकी छे सुन्दरी । मलाई एकाएक डर पलायो, कतै कसैले पंखाको स्विच अन गरिदियो भने ? यस्तो बद्मा सी त आजकल भइरहन्छ । भइरहेकै हुन्छ । म सुन्दरीको लागी चिन्तित भएँ ।
गत सालको मात्रै कुरा हो । मेरो एक महिना यस्तै एउटा चिन्ताले खाइदिएको थियो । कुरा के भने, एउटा पत्रिकाले पहिलो पेजमै विज्ञापन छापेछ । फुल पेज । थुप्रै तलाको घरको तेस्रो तलाको बरण्डामा खुट्टा झुण्डाएर एउटी सुन्दरी बसेकी थिई । विज्ञापन देख्नापसाथ मेरो शरिर नै काँपेर आयो । तनाबमा परेको थिएँ । कतिसम्म भने, राती एकाएक निद्राबाट बिउँझिएर सोच्न् लागेको थिएँ – त्यो सुन्दरीको हालत के भयो होला ? कतै माथिबाट त झरिन ?
अर्को दिन बिहानै पत्रिका आयो र हेर्दा त सुन्दरी त्यहाँबाट गइसकेकी रहिछ । अनि बल्ल संतोषको सास फेरेको थिएँ ।
सोच्दैछु, यिनैमध्येका एक पंखा किनुँ । साडी उडिरहेकी, कपाल उडिरहेकी, स्कर्ट या त दुपट्टा उडाइरहेकी मध्ये एक । फेरी पंखामाथी बसेकी सुन्दरीको बारेमा सोचेँ । बरू त्यो ठिक होला । सुन्दरीलाई त्यहाँबाट उतारेर घर पुर्या इदिउँ । अनि भनुँ – बहिनी यसरी पंखामाथी बस्नु हुन्न ! पंखा त बिकिरहने चिज हो । जसरी नि बिकिहाल्छ । जाबो एउटा पंखाका लागी जिउ-ज्यान किन दाउमा राख्छौ तिमी ?
गर्मी सिजन सुरू भएर होला, पत्रिकामा धेरै नै विज्ञापन छापिएका थिए । सबै विज्ञापनमा सुन्दरी । कुनैमा पनि पंखा अगाडी उभिएर हावा लिरहेका पुरष थिएनन् । हुन त हरेक चिजमा हालत यस्तै छ । टुथपेस्टकै विज्ञापन हेर्नुस् न हरेकमा स्त्री नै छन् चम्किला दाँत देखाइरहेका । यस्ता विज्ञापन एकदमै दुर्लभ छन् जसमा कुनै पुरुष दाँत माझिरहेको होस् । मानौँ पुरुषहरू दाँत सफा नै गर्दैनन् । दाँत माझ्नै जान्दैनन् । या त यस्तो पनि हुनसक्छ कि यो देशमा पुरुषहरू नमोलेको दाँत लिएर हिँडिरहेका छन् । यस्तो हुन पनि सक्छ । यति सोच्नामसाथ मलाई एकाएक घिन जागेर आयो अनि आफू छेउछाउका पुरुषहरूलाई सम्झिएँ ।
हुन त केही विज्ञापनमा पुरुषहरू पनि छन् ।
जस्तो एउटा विज्ञापन छ । मोटरसाइकलको । मोटरसाइकलमाथी एउटा पुरुष बसेको छ । तर छेउमै उभिएकी छे सुन्दरी । बडो प्रेमिल भावमा केटाको कुममा हात थमाएर कामुक नजरले अनुहारमा निहारीरहेकी । म सुन्दरीका आँखामा गहिरिएर हेर्छु । आँखाका भाव पढ्ने कोसिस गर्छु । यस्तो लाग्छ कि उ भनिरहेकी हुँदी हो – तिमीले हाम्रो कम्पनिको मोटरसाइकल किनेको भएर मात्रै म तिमीसँग नजिक भएकी हुँ । अर्को कम्पनीको किनेको हुँदो हौ त म छेउ पर्ने पनि थिइनँ !
अर्को विज्ञापन छ । जहाँ चार-पाँच सुन्दरीहरू एउटा पुरुषलाई एक टक लाएर हेरिरहेका छन् ।
मलाई जिज्ञासा पलाउँछ । अनि मनैमनमा सुन्दरीहरूलाई प्रश्न गर्छु – सुन्दरी तिमी किन त्यो पुरुष प्रति यती मुग्ध छौ ? ऊ सुन्दर भएर हो ?
मनैमनमा सुन्दरीको जवाफ आउँछ – हैन हजुर । ऊ सुन्दर भएर हामी मुग्ध भएकै हैन । उसले त हाम्रो कम्पनीको कपडा लगाएकोले मात्रै हामी उसँग मुग्ध भएका हौँ । उसले अरू कम्पनीको कपडा लगाउँदो हो त हामी यसरी हेर्ने नै थिएनौँ । खासमा हामी त कम्पनीको तर्फबाट मुग्ध हुने ड्युटीमा छौ ।
अवस्था यस्तो छ !
हुन त सुन्दरताको कुनै भरोसा हुँदैन । मौसम जस्तै । शरिरको सुन्दरता कपडा अनुसार फरक पर्न सक्छ । आँखाको सुन्दरता चश्मा अनुसार फरक पर्न सक्छ । खुट्टाको सुन्दरता जुत्ता अनुसार फरक पर्न सक्छ । व्यक्तीको सुन्दरता घर, गाडी अनी रवाफमा अल्झीएको हुन्छ । प्रेमको सुन्दरता अब रहेन । प्रेम र सौन्दर्यको सारा स्टक त आजकल कम्पनीले किनिसकेको छ । अब त जे जति प्रेम र सुन्दरता मिल्छ त्यो सब कम्पनी मार्फत बजारको बाटो भएर मात्रै मिल्छ ।
(प्रसिद्ध भारतिय व्यंगकार हरिशंकर परसाईँ द्वारा लिखित ‘विज्ञापन में बिकती नारी’ को नेपाली अनुवाद हो यो । जुन रचना उनको पुस्तक निठल्ले कि डायरी मा संग्रहित छ ।)
अनुवाद- @ विस्मय !