साथी!
आउ आज एउटा कुरा गरौँ
तिमी तिम्रा अप्ठ्यारा सुनाऊ
म मेरा सुनाउँला।
तिमीलाई सबैभन्दा गाह्राे के लाग्छ साथी?
शिखर चुम्न?
पातालमा भासिन?
बाँच्न ?
कि बँचाउन?
खुसिले उन्मत्त हाँस्न?
कि पीडाले कचल्टिएर रुन?
कत्तिपनि नहिच्किचाइ भन आज
तिमीलाई सबैभन्दा गाह्राे के लाग्छ?
म भनौँ?
मलाई त सबैभन्दा गाह्रो आमा हुन लाग्यो
अझ एउटी छोरीको आमा।
गिद्दको आँखा बोकेर
जताततै सिनोमात्र देख्ने-
यो पुरुषहरुको दुनियाँमा
मलाई आमा हुन गाह्राे लाग्यो।
उसभित्र भरिएका गुणहरुको अघि
उसको शरीरमात्र सर्वस्व बन्छ
उसको ओठको आकृति,
उसको आँखाको नसा
उसको छातीको उचाई
अनि नितम्बको चाल
यी सबै सबै महत्त्वपूर्ण मानिन्छन्
उसको विचार
उसका तर्क
उसको विवेक
उसका क्षमताको अघि!
मानव मुकुट पहिरिएका राक्षसहरुबाट
आफ्नो मुटुको ज्यान
र अस्मिता जोगाउन गाह्राे लाग्यो
हो साथी!
मलाई यो दुनियाँमा
आमा हुन गाह्राे लाग्यो।
अझ हुर्कँदै गरेकी छोरीको
आमा हुन गाह्राे लाग्यो।
~ दुर्गा निरौला