कथा- अतृप्ति

एकाबिहानै राधाको फोनले बिउँझिएँ।

सामान्य हाई हेल्लो, हालखबर अनी सञ्चो-बिसञ्चोका कुरा सकाएर उसले मूल कुरा गरी ‘मैले तेरै रुम छेउ रुम लिएकी छु। भरे आइज है!’ अनि फोन राखी।

साँझ अफिस छुट्टी भएसी गएँ। ठिमी चोकबाट हनुमन्ते पुल तरेर उकालो कटेसी दायाँतिर थोरै भित्र लिएकी रैछ रुम। तिनतले घरको दोस्रो तल्लामा तिन कोठाको फ्ल्याट थियो त्यो। एउटा सिटिङ् रुम, एउटा बेडरुम, किचन अनी अट्याच्ड बाथरुम।बाहिरपट्टी एउटा कुर्सीसम्म अँटाउने सानो बरन्डा। मैले बरन्डामा उभिएर तल ठिमीका घरहरु नियालेँ। हनुमन्ते खोलाबाट उछिट्टीएर आएको हावाको पातलो झोँकाले मेरो गाला सुम्सुम्यायो।

‘कस्तो लाग्यो त?’ पछाडिबाट मसिनो स्वरमा राधाले सोधी।
‘राम्री!’ उतिर फर्किएर जिस्किएँ ‘पहिलाभन्दा अलिक दुब्लाइस् हो?’
‘मैले रुम भनेको बुद्धु!’ उसले मेरो पेटमा चोर औँलाले बिस्तारै धकेली ‘फ्लर्ट गर्न त्यस्तै रैछ अझै।’
‘रुम त माल छ!’
‘तँलाई जे नि माल नै त लाग्छ नि!’
त्यैबेला उसको छोरो खुर्र कुदेर बरन्डामा आइपुग्यो र आमाको दाहिने गोडा पक्रिएर अडेसियो।
‘कतिको भो छोरो?’
‘आठ पुग्नै लागो।’

कोठा लगभग मिलाइसकेकी रैछ। केही मिलाउन बाँकी थियो। मिलाउन सघाएँ। उसले चिया बनाई, दुधको। उसलाई थाहा थियो म दुध चिया बाहेक अरु चिया रुचाउँदिनँ भनेर। अझै बिर्सेकी रैनछ।
‘अदुवा चैँ रैनछ है! यतिकै काम चला।’ हातको कप मेरो छेवैमा राख्दै ऊ हाँसी।
‘मलाई के रुच्छ, के रुच्दैन, अझै याद छ है तँलाई?’
ऊ केही बोलिन। तर सहमतिमा आँखिभौँ भने उचाली। अनि मुस्कुराइरही।
****
राधा मेरो बच्चादेखीको साथी हो। गाउँकी छिमेकी। बालसखा। क्लासमेट। फर्स्ट क्रस। पहिलो प्रेम। आजसम्मको मेरो जिवनको एक हिस्सा। अथवा अरु पनि केही। हजार उपमा जोडिदिए पनि अपूर्ण नै हुने र अर्थ्याउन नसक्ने कुनै सम्बन्ध हुन्छ भने सायद त्यही। अथवा सम्बन्धहरु भन्दा पनि परको सम्बन्ध। जो राधा र मेरो सम्बन्धलाई अर्थ्याउन सक्थ्यो।

बच्चा बेलामा उसको पढाई र स्कुल एकै रहेन। केही कारणले स्कुल फेरिरहन्थ्यो। कहिले मामाघरमा, कहिले फुपुकोमा, कहिले होस्टल अनी घुम्दै फिर्दै फेरी गाउँकै स्कुल। सायद त्यही कारणले पनि हुनसक्छ बिचको एक कक्षा उसको बिग्रिएको थियो र हामी समकक्षी भएका थियौँ। उमेरले मभन्दा एक वर्ष जेठी थिई। तर पनि यस्तै केही कारणले हामी एकै कक्षामा पढ्ने भएका थियौँ।

म सम्झन खोज्छु। त्यो स्कुले दिन। याद हुन्छ।
बिस्तारै याद हुँदै जान्छ…

म पढाईमा ठिकठाक थिएँ, राधा मेधावी। म लुरे थिएँ, राधा सानैदेखीकी मोटी-घाटी। मेरो स्वभाव धिर गम्भिर थियो, राधा चञ्चले। मेरा साह्रै कम साथी थिए भने राधा जोसँग पनि घुल्न सक्थी।

त्यो बेला देखी यो बेलासम्म हामीबिचमा अन्तर धेरै थिए। र छन्। तर पनि केही चिजले हामीलाई बाँधेको थियो। र त्यो के थियो भने…. सायद हामी दुवैलाई थाहा थिएन।

नौ कक्षामा पुगेसी हुनुपर्छ। मलाई पहिलोपल्ट राधाप्रती आकर्षण महसुश भएको थियो। यस्तो आकर्षण, जसमा कुत्कुत्याई थियो। जसमा प्रेम जस्तै केही थियो। जसमा उसका छेउमा बस्ने, छुने, हेर्ने, चल्ने चाह थियो। तर डर थियो। लाज जस्तो थियो। तर पर्याप्त थिएन। संकोच थियो। तर कस्तो संकोच भन्ने परिभाषा थिएन। जिवनमै पहिलोपल्ट एक दिन म राधासँग लजाएको थिएँ।

नौ कक्षाभर हामीबिच त्यही संकोच, डर, लाज अनी आकर्षणले दूरी बनाइराख्यो। यो कुरा राधा पनि बुझ्थी। सायदै बुझ्थी! मैले धेरैपटक उसका आँखामा त्यो चिज पढेको थिएँ। त्यो संकोच त्यहाँ पनि थियो। डर त्यतापनि थियो। हामीले पुरा साल त्यसरी नै लुकी लुकी नजर जुधाएर, डराई डराई छेउ परेर, बोल्नैपरे सासको भरमा बोलेर, छेउछाउ जानुपरे असिन पसिन भएरै बितायौँ।

र दश कक्षामा आएपछी मात्र धेरै कुरा सहज भयो।

स्कुलले पश्चिम नेपालसम्मको भ्रमणको आयोजना गर्योय। एक हप्ताको नेपाल भ्रमण। र त्यही भ्रमण नै मेरो जिवनको टर्निङ् पोइन्ट बन्न पुग्यो। राधासँगको सम्बन्ध र लगावमा नयाँ आयाम थपिदियो।

हप्ता दिनको भ्रमण अवधिभर हामी धेरै नै नजिकिएका थियौँ। लाज, डर, संकोच हराएको थियो।

सर-मिस र साथीहरु हामीलाई हेर्थे। हामी सँगै भएको हेर्थे। तर कोही केही बोल्दैनथे। केही भन्दैनथे। खाना खाँदा होस्, बाहिर घुम्दा होस् अथवा गाडी खाली भएको मौका छोपी दुई जना मात्रै गाडिभित्र गफिएर बसेको बेला होस्। सबैलाई थाहा थियो। तर कोही केही भन्दैनथ्यो। एकै शब्द पनि कसैको मुखबाट निस्किएन। भन्नु र नभन्नुले हामीलाई कुनै फरक पर्नेवाला पनि थिएन। हामी आफ्नै दुनियाँमा हराउन थालिसकेका थियौँ।

भ्रमणको अन्तिम दिन थियो। गाडी पूर्व फर्किँदै थियो। बिहानको चार बजेको हुँदो हो। अन्धकार नीरव सडकको बिचोबिच  ठूलो आवाजका साथ गाडी भित्र केही पड्कियो। सबैले टायर पड्किएको आशंका गरे। तर ड्राइभरले अरु नै केही समस्या आएको कुरा गर्यो । मेकानिक नै बोलाउनुपर्ने र बनाउन समय लाग्ने कुरा बतायो।

गाडीभित्रका सबैजना ओर्लिए। हामी पनि ओर्लियौँ। राधा मेरो छेउमा आई र कुममा बिस्तारै हात राखी। निस्लोट अँध्यारोमा मैले उसको न्यानो स्पर्श महसुश गरेँ।

‘गाडी बन्न समय लाग्नेभो। कोही टाढा जाँदैन है!’ विज्ञान सर फौजी शैलीमा आदेश दिँदै थिए, जतिबेला सबै वौद्यार्थी तितर बितर भैसकेका थिए। त्यही मौकामा राधाले बिस्तारै मलाई तानी र गाडीभन्दा पर सडकमा हिँड्न लागी। मैले उसलाई पछ्याएँ।

अँध्यारो सडक, एकदमै संयमित भएर पाइला चाल्नुपर्ने। सडक छेउछाउ जङ्गल थियो भने सडक सुनसान थियो। गाडी गुडेका थिएनन्। एक दुई ट्रक र केही रात्री बसलाई छाड्ने हो भने सडक लगभग शान्त थियो।

हिँड्दै केही पर पुगेसी हामी अडियौँ।
‘बस देखिनेभन्दा पर त नजाम् है!’ राधा सुस्तरी बोली। र छेवैको पारापिटमा अडेस लागी।
म उसको सामुन्ने उभिएँ। अँध्यारोमा पनि उसको अनुहार ठम्याउन सकिने गरि चम्किरहेथ्यो। हेरिरहेँ। उसले हठात मेरो हात पक्रिएर आफूतिर तानी र छेवैमा बस्न अह्राई। म आज्ञाकारी बच्चो झैँ थपक्कै टाँसिएर बसेँ। दाहिनेतिर।

पूर्वको क्षितिज बिस्तारै उज्यालिँदो थियो। बिहानी सिरेटोले कानका लोती चिस्याइरहेथ्यो। जङ्गलतिरबाट पातलो अन्तरालमा हावाको भुल्का उठ्थ्यो र हामीलाई स्पर्श गर्दै बत्तिएर बिलाउँथ्यो।

राधाले मेरो हात पक्रिएकी थिई। बिस्तारै औँला मुसारिरहेकी। म महसुश गर्न सक्थेँ, ति बिस्तारै तातिँदै गएका चिसा औँलाहरु । जुन हलुकासँग मेरा औँलाका चेपहरुमा घुस्दै थिए। एकदम शान्त। चुपचाप। अनि बडो संयमका साथ।

छिनभरमै उसले मेरो हात लगेर आफ्ना तिघ्रामा राखिदिई। अनि बिस्तारै घुमाई। म उतिर थोरै ढल्किन खोजेँ। उसका कुममा। जहाँ उसले आफ्नो अनुहार नजिकै ल्याएर राखेकी थिई। मैले उसका नाकबाट निस्किँदो तातो स्वासलाई पहिलोपल्ट महसुश गरेँ। स्वासको वेग महसुश गरेँ। तिव्रता, उद्वेग र उत्तेजना महसुश गरेँ। अनि बिस्तारै ओठमा ओठ लगेर राखिदिएँ। एकदमै सुस्तरी।

त्यो मेरो जिवनको पहिलो अनुभव थियो। यस्तो अनुभव कि जो व्याख्यातित छ। जो शब्दातित छ। जो वर्णन भन्दा पर छ। छ त केवल अनुभव छ।

त्यो एकक्षण हामीले मानौँ संसार भुलेका थियौँ। मानौँ संसारमा हामी दुई छौँ, अरु कोही छैन। मानौँ, त्यो पल मात्र सत्य छ अरु छैन।
त्यो एकक्षण मैले उसलाई पाएँ। सिङ्गो राधालाई पाएँ। पाएँ अनि उसैमा हराएँ। उसका घाँटीमा चुमेँ। पेट सुम्सुम्याएँ। कम्मर मुसारेँ। कलिला छातीको स्पर्श ‌गरेँ। खेलाएँ। गिजोलेँ। उसका हात पनि उस्तै उताउला बनेर मेरा कम्मर, पेट र पाइन्टमा चल्मलाइरहे। र त्यही क्षण मैले जिवनको पहिलो स्खलन अनुभव गरेँ।

र पन्ध्र वर्ष अगाडीको त्यो एकक्षण नै, त्यसखाले क्षणहरुका लागी पहिलो र अन्तिम थियो। त्यसयता हामीबिच जे जति भयो त्यो सब आत्मिक र विशुद्ध भावनात्मक सम्बन्ध बाहेक केही भएन।

तर मेरो मनमा त्यो क्षण गहिरो गरेर गाढीयो। प्रेम जस्तो केही थियो, जो अरु बढेको थियो। आकर्षण अरु बढेको थियो। उसका प्रतीको लगाव, समर्पण, त्याग र इमान्दारिता अरु बढेर गएको थियो। जसको अनुभव मलाई समयक्रममा बिस्तारै हुँदै गएको थियो।

स्कुल सकियो। प्लस टु पढ्न हामी दुबै बिर्तामोड सर्यौँा। उसले साइन्स लिएकी थिई। मैले कमर्स। बसाई अलग थियो। कलेज अलग थियो। विषय अलग थियो। साथी अलग थिए। एक हिसाबले भन्ने हो भने हाम्रो बाटो पुरै अलग्गिसकेको थियो। तर भेट भने हुन्थ्यो। र भइरहन्थ्यो।

हामीबिच प्रेम नभएर पनि प्रेम थियो। एक अर्काका रुची-अरुची देखी खाना, पहिरन, पढाई, साथी अनी धेरै कुराहरुमा चासो हुने गर्थ्यो। अझ मलाई भन्दा ज्यादा उसैलाई चासो हुने गर्थ्यो। मैले कसैसँग बोलेँ भने ऊ चासो राखेर मलाई सोध्ने गर्थी। म बिना जानकारी कतै गएँ भने उसका हर संशयको जवाफ मैले दिनुपर्थ्यो। यो खा त्यो नखा, यता जा त्यता नजा, यसो गर त्यसो नगर। बिस्तारै राधा मेरो निजी जिन्दगीमाथी हाबी हुँदै थिई। जुन कुरा मलाई थाहा हुन्थ्यो । र रमाईलो ‌लाग्थ्यो। दुबै जनाका परिवार, साथी र गाउँतिर प्रायलाई हाम्रो सम्बन्धाबारे थाहा थियो।

बाह्रको परिक्षा सकेको केही दिनमा राधाले भागेर बिहे गरी।

राधाले कसरी त्यसो गर्न सक्छे?
मसँग जवाफ थिएन। हुनसक्छ उसैसँग पनि जवाफ थिएन। तर त्यो रात म निदाइनँ। हप्तौँ छट्पटाएँ। अनि महिनौँ दिमागी अवसाद बोकेर बाँचेँ। मेरो चित्त दुखाई थियो राधासँग। बिहे गरेकोमा हैन, उसले आफ्नो प्रेम सम्बन्ध मसँग किन लुकाई भन्ने कुरा सँग।

त्यसपछि म झापा बस्न सकिनँ। र काठमाडौँ हान्निएँ।

तर त्यो अवसादले मलाई एउटा फाईदा गर्यो । म साहित्य लेख्न र पढ्न लागेको थिएँ।

बिचमा एकाध बार राधासँग भेट भयो। कहिले एक्लै, कहिले श्रीमान्‌का साथ अनि अलिक पछि छोरो सहित। प्राय दशैँमा घर गएको बेला भेट हुन्थ्यो। मुस्कुराइन्थ्यो। हाइ हेल्लो हुन्थ्यो। पुराना कुरा कहिल्यै निस्किएनन्। निस्किने मौका र समय पनि मिलेन। न मैले कहिल्यै उसको परिवार र पतिका बारेमै सोधेँ। न त्यो बेला के भएको थियो भन्नेमै चासो देखाएँ। ऊ खुसी देखिन्थी। हर भेटमा राधा खुसी नै देखिन्थी। मैले बिस्तारै सबै कुरा बिर्सिँदै गएको थिएँ। यसरी हाम्रो सम्बन्ध बिस्तारै औपचारिक बनेर सकियो।

समय बित्यो। मैले मास्टर्स सिद्ध्याएँ। जागिर खाएँ। यहि बिचमा केही प्रेम सम्बन्ध भए, टुटे। हुन खोजेर पनि छुटे। र पनि मलाई ति कुनै सम्बन्धहरुमा बिस्मात् रहेन। र छैन। जति मैले राधासँगको सम्बन्धमा भोगिसकेको थिएँ।

राधा इटहरीमै थिई। परिवारसँग रमाइरहेकी थिई। कहिलेकाहीँ फेसबुक मेसेन्जरमा कुरा हुन्थ्यो। एक अर्काका पोस्टहरुमा लाइक कमेन्ट हुन्थ्यो। त्यत्ती।

तर एकदिन अचानक आएको उसको फोनले भने मेरो जिवनलाई अर्को मोडमा पुर्यासइदियो।
राती खाना खाएर सुत्ने बेलामा नयाँ नम्बरबाट फोन आयो। फोन उठाउना साथ आवाज चिनेँ। राधा। मातेकी थिई। बोली लर्बरिएको थियो। अनि एकदमै चर्को। केही कुराको सोधखोज र हालखबर पछि ऊ बेस्मारी रुन लागी। श्रीमान्‌सँग झगडा गरेर साथीकोमा बसेकी रैछ। मनका भँडास् पोखी। पोइलाई मुखमा आएजती गाली गरी। र डिभोर्स दिएर चाँडै काठमाडौँ आउने कुरा गरेर राखी।

हुन त मैले त्यो कुरालाई त्यती चासो दिएको थिइनँ। तर कुरा साँचो थियो। केही दिनमै उसले डिभोर्स दिइछ। मलाई फोन गरेर सुनाई।

यसरी जिवनको एउटा अध्याय सकिएर अर्को अध्याय सुरु भएको थियो। र यसरी मेरो जिवनको राधा च्याप्टर फेरी ओपन भयो।

***
अर्को दिन साँझ उसले खाना खाने निम्ता दिई। म निम्तो स्विकार्दै साँझ पुगेँ।

‘तँ कति कुल मान्छे छस् है?’ खाना खाँदै गर्दा ऊ बिस्तारै बोली।
‘किन?’
‘मलाई त्यस्तै लाग्छ के! तँ कुल छस् यार!’ उसले मेरा आँखामा एकटक हेरी। उसका आँखा रसाएका थिए।
ऊ बोलिरही ‘मैले तेरो माया कहिल्यै बुझ्न सकिनँ यार। बुझ्न जानिनँ। कैलै ध्यान दिइनँ। सधैँ इग्नोर जस्तै गरिरहेँ। तर तैँले कैले त्यसो गरिनस्। म किन तँजस्तो हुन सकिनँ? कति माया गर्छस् है मलाई?’
‘छोड् त्यो कुरा!’ मैले अन्तिम गाँस भात टिप्दै भनेँ ‘हामी बच्चाबेलाका साथी हौँ। त्यती सम्झिए पुग्छ।’
ऊ केही बोलिन। म केही बोलिनँ। माहौल सुनसान बन्यो। लामो समय सुनसान बन्यो। उसले उठेर किचन सफा गरी। भाँडा माझी। लामो केश, घुँडासम्म छोपिने हाफ पाइन्ट अनि पातलो भेस्ट लाएर भाँडा माझिरहेकी राधालाई म पछाडीबाट हेरिरहेँ।

राती अबेरसम्म बसेर म कोठा फर्किएँ।

‘सुतिस्?’ हर रात भाइबरमा उसको मेसेज आउँथ्यो।
‘छैन।’ हर रात म जवाफ दिन्थेँ ‘तँ?’
‘छोरो सुतो।’ हाँसेको इमो पठाउँथी।
अनि मध्यरातसम्म रोमान्टिक कुरा गरेर हामी निदाउँथ्यौँ।

यो क्रम फेरी दोहोरियो। हर दिन। हर रात। सुत्नु अघि आदत जस्तो बन्दै थियो। राम्रो हो या नराम्रो। नैतिक हो या अनैतिक। ठिक बेठिक, सहि गलतको पर्वाह नराखी हामी फेरी नजिकिएका थियौँ। नजिकिँदै थियौँ। नजिकिइसकेका थियौँ।

तर यता मेरो व्यस्तता बढ्दै थियो। कामको चाप थपिएको थियो। लेखनलाई तिब्रता दिएको थिएँ। कार्यक्रमहरु बढ्न थालेका थिए।

र यो समय पनि बित्यो।

म कोठा सरेर भैँसेपाटी गएँ। उसले पनि कोही भेट्टाईछ। बिहे गरी। खबर गरेकी थिई। बधाई दिएँ। शुभकामना भन्नु बाहेक मसँग अरु के नै पो थियो र बाँकी?

हामी फेरी अलग भयौँ। सम्पर्क फेरी टुट्यो।

वर्षदिन जति पछी एक साँझ हामी तिनकुनेको एक क्याफेमा भेटियौँ। उसैको निमन्त्रणामा।
उसलाई हेरेँ। दुब्लाएर जिट्टी भइछ। थकित थियो अनुहार। धेरै रात ननिदाएजस्ता आँखा। गालामा कालो पोतो जस्तो देखिन थालेछ। कपाल पहिलाजस्तो थिएन। यो राधा त्यो पुरानी राधा जस्ती कतैबाट देखिन्नथी।

हामीबिच केही परिवारका कुरा भए। जागिरका कुरा भए। मैले मेरो प्रमोसनको कुरा सुनाएँ। किताब लेख्दै गरेको कुरा सुनाएँ। घरको कुरा सुनाएँ। बिहे गर्न लागेको कुरा सुनाएँ। म धेरै अर्थमा खुसी थिएँ। घर, परिवार, जागिर धेरै कुराहरुमा। जुन सबै मैले सुनाएँ। ऊ चम्किला आँखामा बडो ध्यामग्न भएर मेरा कुरा सुनिरही।

‘अनि तेरो सुना! कस्तो चल्दैछ त जिन्दगी?’

‘नसोध् यार!’ उसले नजर झुकाई र हातको कप खेलाउँदै बोली ‘यो कप फुटाएर फेरी टाँस्यो भने पहिलाकै जस्तो बन्छ?’

‘किन? के भयो र?’

‘मेरो प्रश्नको जवाफ दे न! बन्छ त?’

‘पक्कै नबन्ला!’ मैले लापर्वाही जवाफ दिएँ र सोधेँ ‘के भयो कुरा चैँ खास? भन् त!’

‘एकचोटी फुटेको चिज जतिपटक जताबाट जोडेपनि त्यो नजोडिने रैछ यार्!’ उसका आँखा रसाए ‘श्रीमान् छन्, छोरो छ, श्रीमान्‌तिरकी छोरी पनि छ। तर न श्रीमान् मेरो भयो, न मेरो छोरो उसको भयो, न उसको छोरी मेरी। शरिर जोडिएर पनि मन जोडिन सकेको छैन यार्! फेरी डिप्रेस्ड भाकी छु म!’

अनि लामो सुस्केरा हाली।

बिस्तारै कुरा बुझेँ। ऊ यता पनि सन्तुष्ट थिइन। ऊ कतै पनि सन्तुष्ट थिइन। ऊ कहिल्यै सन्तुष्ट थिइन।

कुरा लामै भयो। कुराकै बिचमा मैले थाहा पाएँ। उसमा धेरै परिवर्तन थियो। बोलाईमा। बोलीको ओजमा। आत्मविश्वासमा। हाउभाउमा। मप्रतिको व्यवहारमा। उसका हर शब्द निराशाले भरिएका थिए। हर बोलीमा सुस्केका थियो। कतै न कतै पछुतो, ग्लानी र जिन्दगीसँगको हिनताबोध थियो। मैले बुझेँ। बुझिरहेँ। उसका आँखाका भाव पढिरहेँ। मुखबाट निस्किएका शब्द र आँखाको लय मिलिरहेको थिएन। मैले बुझेँ।

र त्यती कुरा बोल्न, अभिव्यक्त गर्न र प्रेम भाव देखाउन यतिका वर्ष केले रोक्यो उसलाई? सोध्नै चाहेर पनि सोधिनँ।

‘मैले बल्ल थाहा पाएँ, मेरा लागी तँभन्दा पर्फेक्ट मान्छे अर्को थिएनछ। कतितिर खोजेँछु, कतिसँग साथ बिताएँछु, कतिलाई नजिक ल्याएँछु र टाढा पुर्यािएँछु। म कस्ती थिएँ! मैले तँलाई कहिल्यै मनको नजिक राख्न सकिनछु। म चुकेँछु। जिन्दगीमा चुकेँछु यार्। ‘ कुराको बिट मार्दै गर्दा उसले एकै सासमा भनी।

उसले जे बोली, त्यसैका लागी त म सधैँ तड्पिएको थिएँ। वर्षौँ तड्पिएको थिएँ। मैले चाहेको पनि त्यही नै थियो नि हैन र?

तर हैन। म कठोर भैसकेको छु। राधाप्रती कठोर भैसकेको छु। किन हो यो पटक भने उसका कुराले मेरो दिमागमा कुनै असर गरेन। मनमा कुनै असर गरेन। ऊ प्रतिको मेरो मनमा गढीएर बसेको प्रेम सकिएछ क्यार। या त हुनसक्छ मैले उसलाई बिर्सिसकेँछु।

अब बिर्सिनु नै ठिक छ।

र त्यही दिन मैले मनमनै प्रतिज्ञा गरेँ, ‘अबदेखी म राधालाई कहिल्यै भेट्ने छैन!’