सदिक्षा चापागाईँका तीन कविता

म चरी बन्ने छु

म चरी बन्ने छु
शरीर भुइँमै भए पनि
मनको उड्ने रहर पूरा गराइदिने छु!
म ‘एक्लोपन’मा होइन,
‘एकान्त’मा आफूसँग जिउने छु
ताकि गुमाइसकेकी आफूलाई
फेरि अपनाउन सकुँ
म भीडमा एक्लिएर थाकिसकेँ,
एकान्तमा आफूलाई भेटाउन सकुँ।

त्यसैले
मलाई यात्रा एक्लै गर्ने मन छ
हो,
मलाई स्वतन्त्र हुने मन छ।

…………

परिचय यस्तो होस्

यहाँ केही अपरिचितहरु
थाहा नपाई परिचित बन्छन्
र फेरि अपरिचित नै बनिदिन्छन्,
थाहै नपाई!
सायद यो चलिरहने प्रक्रिया हो।

..चिनजान यस्तो रहोस्,
जुन विचारबाट जोडिएको होस्,
या त जोडियोस् व्यवहार हेरेर!
र बाँचिरहोस्
विचार नमरुन्जेल्,
उस्तै रहोस्
व्यवहार नफेरिउन्जेल्।

………..

क्षणिक

पोख्खिएर आत्तिनु,
भरिएर खुसी हुनु
छरिँदैमा
आफ्नोपन गुमाएँ भन्नु,
समेटिँदैमा-
आफूलाई पाएँ भन्नु
यी त सब
क्षणिक कुरा न हुन्,

चलिरहन्छन्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *