फुर्सद
यति बेफुर्सदी छ कि
अलिकति फुर्सद पनि खोसेर लिन्छ ।
सुन्न त मन थियो-
एक हरफ कविता
अलिकति गन्थन
र सञ्चो बिसञ्चोको खबर
अनि
सुनाउन मन थियो
मनभित्रको चाहना
भावना
र तमाम बाँकी कुराहरु ।
तर हेर न-
फुर्सद पो कहाँ छ र ?
अहिलेलाई
मेरा कविता पढ्दै गर्नु तिमी
बाँकी कुरा
फुर्सदमा गरौँला ।